गैँडाकोटमा शिक्षकले विद्यार्थीलाई अश्लील भिडियो देखाएकोमा आन्दोलन, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
चेरवन्त खबर डेस्क
नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित जनक माद्यामिक विद्यालयका शिक्षकले एक छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । सो बिद्यालयका कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको आरोप छ । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
आन्दोलित विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना २४ प ६६१५ र प्र ३ ( ००२ प २७७६ नम्बरका २ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केही समय तनावग्रस्त बनेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । विद्यार्थीहरुले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए । प्रहरी नायब निरिक्षक प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन् । उता कति जना घाइते भए जानकारी आएको छैन ,’ उनले भने ।
आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको र घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए । विद्यार्थीहरुका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन २ पक्षबीच छलफल हुँदै आएको थियो ।