
नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले विकेन्डमा कमायो २ करोड ४३ लाख

निराज रानाभाट
चर्चित नायक अनमोल के.सी. र चर्चित नायिका सुहाना थापाकाे मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले ३ दिने विकेन्डमा २ करोड ४३ लाख ग्रस कलेक्शन गरेको दाबी वितरकको छ ।

वितरक गोविन्द शाहीले ३ दिन चलचित्रले बम्पर व्यापार गरेको बताए । साउथको हिन्दी डब फिल्म ‘ केजीएफ २ ’ नेपाल नभित्रिएको भए चलचित्रको व्यापार सहजै ३ करोड माथि पुग्थ्यो । झरना थापा निर्देशित फिलरले नयाँ वर्षको बिदाको दिनमा ८८ लाख , शुक्रबार ६६ लाख र शनिबार बिदाको दिन ८९ लाख ग्रस कलेक्शन गरेको वितरक शाहीको दाबी छ ।

यो चलचित्रले बिहिबार र शनिबार देशभरका हलमा पाएका सबै शोजमा हाउसफूलको व्यापार गरेको थियो । शुक्रबार पनि फिल्मको व्यापार सुखद थियो । विश्व बजारमा नै तहल्का मच्चाएको ठूलो हिन्दी चलचित्रको अगाडि रिलिज भएको नेपाली चलचित्रले आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।