
मोबाईल पसलमा चोरी गर्ने पाँच जना पक्राउ

चेरवन्त खबर डेस्क
पसल फुटाएर मोबाईल चोरी गर्ने पाँच जना लाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय बिशाल मुखिया सोही वडाका २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र वडा नं.४ खुटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रसौनी गाँउपालिका वडा नम्बर २ मा शनिवार राती करिब २ बजे शुभ श्री मोबाईल पसल फुटाएर मोबाईल चोरी गरेका ५ जना लाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।

प्रसौनी गाउँपालिका वडा न.१ बस्ने बिशाल मुखियाको संलग्नतामा चोरी गरीएको यकिन भएपश्चात प्रहरीले मुखियाको घरमा खानतलासी गर्दा पसलबाट चोरी भएको मालसामान मुखिया सुत्ने कोठाको खाट मुनि लुकाई राखेको फेला परेको प्रहरीले जनाएको छ। मुखियाको घरबाट ३ वटा झोलामा ९४ थान नयाँ मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर समेत फेला परेको थियोे।

खानतलासी गर्ने क्रममा प्रहरीले मुखिया घरबाट चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन्।
प्रहरीले उक्त चोरी कार्यमा संलग्न रहेका अन्य ४ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका ५ जना लाई डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहको प्रबक्ता थापाले जनाएका छन्।